- फाल्गुन ६, २०८२
- No Comment
- 46
आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा
काठमाडौं — शेर्पा समुदायले आज विविध कार्यक्रमका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ लाग्ने यस पर्वलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा छ।
नेपालका हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायसहित महायान बौद्ध परम्परामा चन्द्रमासको गणनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वासका साथ यो पर्व मनाइन्छ।
पर्वको अवसरमा गाउँघर, टोल तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने ‘गुथुक’ र ‘खाप्से’ जस्ता विशेष परिकार खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने चलन छ।
ग्याल्पो ल्होसारका अवसरमा स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले पर्वलाई अझ आकर्षक बनाउँछ। गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने, परिवार र आफन्तसँग भेटघाट गर्ने परम्पराले सामाजिक तथा पारिवारिक सम्बन्धलाई सुदृढ बनाउने विश्वास गरिन्छ।
नयाँ वर्षका रूपमा मनाइने यो पर्वले समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। परिवार, मित्रता र समुदायबीच सहकार्य र समझदारीको वातावरण सृजना गर्न ल्होसारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ।
ग्याल्पो ल्होसारको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।