- Breaking News
- No Comment
देशलाई निकास दिन एमाले–कांग्रेसबीच प्रतिस्पर्धा जरुरी : यामलाल कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्य मन्त्रि तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव यामलाल कँडेलले देशलाई वर्तमान संकटबाट निकास दिन आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
सोमबार सुर्खेतको वीरेन्द्रनगर–१२ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेसजस्ता स्थापित राजनीतिक शक्तिबिना मुलुक अघि बढ्न नसक्ने दाबी गरे। “हामी भोट मात्र माग्दैनौं, जनताको भरोसा गुम्न दिँदैनौं,” उनले भने, “२०८४ मा हुनुपर्ने चुनाव फागुन २१ मा हुन लागेको छ, त्यसैले यो निर्वाचन विशेष महत्वको छ।”
कँडेलले सिंहदरबार र देशका प्रमुख धरोहर जलाउने तथा सहकारी ठगीमा संलग्न व्यक्तिहरू नयाँ आवरणमा जनतालाई भ्रमित पार्न खोजिरहेको आरोप लगाए। सामाजिक सञ्जालमार्फत नकारात्मक सन्देश फैलाएर नागरिकलाई अल्मल्याउने काम भइरहेको उनको भनाइ थियो।
उनले वैधानिकताको लडाइँमा रहेको कांग्रेस एक्लैले देशको निकास दिन नसक्ने उल्लेख गर्दै फरक राजनीतिक कित्तामा उभिए पनि एमाले र कांग्रेसबीचको प्रतिस्पर्धा नै मुलुकका लागि आवश्यक भएको बताए। साथै, उनले पुष्पकमल दाहालप्रति विश्वास नभएको टिप्पणी गर्दै “हिजो जलाउन उक्साउनेहरूले अहिले देश जलाउने र बनाउनेको भाषा प्रयोग गरिरहेका छन्” भने।
आगामी निर्वाचन भोट हाल्ने प्रक्रियामा मात्र सीमित नभई देशलाई भूराजनीतिक चुनौतीबाट जोगाउने अवसरसमेत भएको उनको भनाइ थियो। नकारात्मकताको चर्चा मात्र गर्दा नागरिकमा वितृष्णा बढ्ने भन्दै उनले विकास र स्थायित्वका मुद्दामा केन्द्रित हुन नेता–कार्यकर्तालाई निर्देशन दिए।
नयाँ शक्तिका नाममा आएका समूहले स्थानीय तह र प्रदेश सरकारले गरेका काममा अनावश्यक विरोधाभास सिर्जना गर्न खोजेको आरोप लगाउँदै उनले मतदातालाई भ्रममा नपर्न आग्रह गरे।