- Breaking News
- No Comment
डिजिटल मतदाता शिक्षा अभियान सुरु, वडा–वडामा स्वयंसेवक परिचालन
काठमाडौं — निर्वाचन आयोग ले आगामी निर्वाचनलाई लक्षित गर्दै देशव्यापी विशेष मतदाता शिक्षा अभियान सुरु गरेको छ। आयोगका अनुसार अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ।
सूचना अधिकारी सुमन घिमिरेका अनुसार विगतका निर्वाचनमा देखिएका कमजोरीलाई सुधार गर्ने उद्देश्यले यस पटक कार्यक्रम आयोगकै नेतृत्वमा प्रभावकारी रूपमा सञ्चालन गरिएको हो। अघिल्ला निर्वाचनमा स्थानीय तहका कर्मचारीलाई स्वयंसेवकका रूपमा परिचालन गरिँदै आएकोमा यस पटक प्रत्येक वडामा आयोगले आफ्नै एक–एक जना स्वयंसेवक नियुक्त गरेको छ।
स्थानीय तहबाट सञ्चालित कार्यक्रममा अपनत्वको कमी देखिएकाले आयोगले आफैं स्वयंसेवक छनोट गरी तालिम दिएर कार्यक्षेत्रमा खटाएको जनाएको छ। ती स्वयंसेवकहरूले स्थानीय भाषा र परिवेशअनुसार मतदातालाई सही तरिकाले मतदान गर्ने विधि सिकाउनेछन्।
यस अभियानको मुख्य विशेषता ‘डिजिटल मतदाता शिक्षा’ रहेको घिमिरेले बताए। कागजको प्रयोग न्यूनिकरण गर्ने उद्देश्यले पोस्टर र पम्प्लेटको सट्टा सामाजिक सञ्जाललाई प्राथमिकता दिइएको छ। आयोगको आधिकारिक फेसबुक पेज ‘इलेक्सन कमिसन नेपाल’ मार्फत उपलब्ध भिडियो, एनिमेसन र ब्रोसर प्रयोग गरी मतदाता शिक्षा प्रदान गरिनेछ।
स्वयंसेवकहरूले घरदैलो कार्यक्रममार्फत नमूना मतपत्र र स्वस्तिक छापको प्रयोग गरी मत बदर हुन नदिने तरिका सिकाउनेछन्। अभियानको प्रभावकारिता अनुगमन गर्न प्रविधिको प्रयोग गरिएको आयोगले जनाएको छ।
हरेक स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिलाई अनुगमनको जिम्मेवारी दिइएको छ भने केन्द्रबाट ह्वाट्सएप समूहमार्फत दैनिक रिपोर्टिङ भइरहेको छ। आयोगले मतदातालाई आफ्नो आधिकारिक सामाजिक सञ्जाल पेज फलो गरी डिजिटल माध्यमबाट निर्वाचनसम्बन्धी जानकारी लिन आग्रह गरेको छ।