- फाल्गुन ३, २०८२
- No Comment
- 33
‘नयाँ–पुराना’को नाममा भ्रम छर्ने प्रयास भइरहेको छ : एमाले सचिव कँडेल
वीरेन्द्रनगर — यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अखिल नेपाल महिला संघ वीरेन्द्रनगरले शनिबार नगर भेला भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा नगरका विभिन्न वडाबाट महिलाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
भेलालाई सम्बोधन गर्दै नेकपा एमाले का सचिव यामलाल कँडेलले समाजमा पुस्तागत सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नयाँ र पुरानाको नाममा जनताबीच भ्रम सिर्जना गर्ने प्रयास भइरहेको बताए।
उनले भने, “हाम्रो समाजमा विभिन्न पुस्ता छन्। खासगरी नयाँ र पुराना भनेर जनता बीच भ्रम छर्ने काम भइरहेको छ। छोराछोरीले बुबाआमालाई ‘पुराना’ भनेर लखेटे भने समाज कता जान्छ?” उनले निर्वाचनमा सही र गलत छुट्याउन जनताले तथ्य र विवेकका आधारमा निर्णय गर्नुपर्ने धारणा राखे। राजनीतिक रूपमा एमाले बलियो अवस्थामा रहेको दाबी गर्दै आगामी निर्वाचनमा पार्टी विजयी हुने विश्वास व्यक्त गरे।
कँडेलले चुनाव जित्न सामूहिक मेहनत, निरन्तर जनसम्पर्क र सक्रियताको आवश्यकता रहेको उल्लेख गर्दै कार्यकर्तालाई थप जिम्मेवार र सक्रिय भएर लाग्न आह्वान गरे।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य मोहन माया ढकाल, पद्मा खड्का तथा सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कुलमणी देवकोटालगायत नेताहरूको सहभागिता रहेको थियो।