५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न, कर्णालीमा ढुवानी शुरू
काठमाडौँ । निर्वाचन आयोगले ५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ। आयोगका अनुसार हिजोसम्म कूल १ करोड ५७ लाख ७८ हजार मतपत्र छापिएको छ।
छपाइ सकिएका मतपत्र कर्णाली प्रदेशका जिल्लामा पठाउन थालिएको आयोगले जनाएको छ। कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी कार्य सुरू भएको हो।
सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र पठाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो।
आयोगका अनुसार हालसम्म १४ हजार ३ सय ४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब १ हजार बाकस मतपत्र प्याकिङ तथा १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा मतपत्र छपाइ कार्य जारी रहेको छ। आयोगले पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकेको जनाएको छ।