- माघ २८, २०८२
- No Comment
- 43
जाजरकोटमा मादक पदार्थ सेवन गरी लठ्ठ भएका म्यादी प्रहरी सेवाबाट हटाइए
जाजरकोट। निर्वाचन सुरक्षाका लागि भर्ना भएका एक म्यादी प्रहरीलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा सेवाबाट निष्कासन गरिएको छ।
प्युठानको झिमरुक गाउँपालिका–७ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर–११ बस्दै आएका दर्ता नं. १६२७ का प्रेमबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले सेवाबाट हटाइएकाे जाजरकाेट प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार निर्वाचन प्रहरीको प्रशिक्षण समापन भएको दिन मंगलबार राति भेरी नगरपालिका–४ गैरीखालीस्थित सडकको नालीमा अत्यधिक मदिरा सेवन गरी सुतिरहेको अवस्थामा खत्री फेला परेका थिए।
घटनापछि तयार गरिएको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षणबाट उनले मादक पदार्थ सेवन गरेको पुष्टि भएको जनाइएको छ। त्यसपछि ‘निर्वाचन प्रहरी भर्ना, छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि–२०८२’ को दफा १२ (ठ) बमोजिम आचरणविपरीत कार्य गरेको ठहर गरिएको थियो।
सोही कार्यविधिको दफा १२ (घ) अनुसार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि म्यादी प्रहरीको जिम्मेवारीबाट उनलाई हटाउने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।