- पुस २६, २०८२
- No Comment
- 84
कम्पनीको कागजात दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं। कम्पनीको कागजात दुरूपयोग गरी ‘ई–सेवा’मार्फत करोडौँ रुपैयाँको अवैध आर्थिक कारोबार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कीर्तिपुर नगरपालिका–७ का १९ वर्षीय क्रमिक उप्रेतीलाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उप्रेतीले वाइड–स्पेस इन्टरनेशनल प्राइभेट लिमिटेडको नाममा आन्तरिक राजस्व विभागबाट जारी स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातहरू अनधिकृत रूपमा प्रयोग गरी ई–सेवाको ‘मर्चेन्ट वालेट’ र ‘वालेट’ खोली गैरकानुनी कारोबार गरेको उजुरी परेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा ई–सेवा मर्चेन्ट आइडी २२२२०२००१८२१७५२७ बाट ५६ लाख ३३ हजार ६०३ दशमलव ७६ रुपैयाँ र ई–सेवा वालेटमार्फत ५६ लाख ३१ हजार ६०३ दशमलव ७६ रुपैयाँ बराबरको कारोबार भएको खुल्न आएको प्रहरीले जनाएको छ। सट्टेबाजीलगायतका प्रयोजनका लागि एक करोड १२ लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले उप्रेतीको साथबाट एक थान ल्यापटप, विभिन्न मोडेलका दुई थान मोबाइल फोन, एनसेलका १६ थान सिमकार्ड, नमस्तेका तीन थान सिमकार्ड, एक थान स्मार्ट सिमकार्ड, एक थान पेन ड्राइभ र एक थान मेमोरी कार्ड बरामद गरेको छ।
पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर तथा सट्टेबाजीजन्य कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए।



