- पुस २४, २०८२
- No Comment
- 159
प्रतिनिधि सभा निर्वाचनको लागि जाजरकाेटले माग्याे ९८२ जना निर्वाचन प्रहरी

जाजरकोट – आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जाजरकोट जिल्लामा ९८२ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना प्रक्रिया सुरु भएको छ। निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति, जाजरकोटले सूचना जारी गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि एकीकृत रूपमा आवेदन माग गरेको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकाेटका अनुसार नेपाल प्रहरीतर्फ ८८६ जना र सशस्त्र प्रहरी बलतर्फ ९६ जना गरी कुल ९८२ जनाको माग गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले जिल्ला प्रहरी कार्यालय जाजरकोट वा सशस्त्र प्रहरी बल नेपाल, गुल्म हे.क्वा. जाजरकोटमा उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन्।
आवेदन दिने अवधि २०८२ पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको छ। यस अवधिमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सार्वजनिक बिदाका दिनसमेत आवेदन दिन सकिनेछ। माघ ४ गते सम्पर्क मिति तोकिएको छ भने छनोट प्रक्रिया माघ ५ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम नतिजा माघ १२ गते प्रकाशन गरिनेछ र छनोटमा परेकाहरूका लागि माघ १५ गतेदेखि माघ २४ गतेसम्म प्रशिक्षण सञ्चालन गरिनेछ।
भर्नाका लागि उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। साधारण लेखपढ गर्न जान्ने शैक्षिक योग्यता आवश्यक रहेको छ। शारीरिक मापदण्डअनुसार पुरुषको हकमा उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ भने महिलाको हकमा उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी तोकिएको छ। उम्मेदवार शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुका साथै नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको र महिलाको हकमा गर्भवती नभएको हुनुपर्नेछ।
सूचनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व कर्मचारी, पूर्व वन रक्षक, विदेशी सुरक्षा निकायमा काम गरी अवकाश प्राप्त नागरिक तथा अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्तिलाई प्राथमिकता दिइने जाजारकाेट प्रहरीले जनाएकाे छ।
निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति पाएको मितिदेखि ४० दिनको हुनेछ। सो अवधिका लागि प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले कुल ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक प्रदान गरिनेछ। यसका साथै जिल्लागत दररेटअनुसार रासन खर्च, एकमुष्ट ८४६ रुपैयाँ तयारी खर्च, चार दिनका लागि १ हजार २०० रुपैयाँ खाजा खर्च तथा तोकिएको दररेटअनुसार पोशाक भत्ता उपलब्ध गराइनेछ। कर्तव्य पालनाको क्रममा घाइते वा मृत्यु भएमा नेपाल सरकारले तोकेअनुसारको बीमा र उपचार सुविधा प्रदान गरिनेछ।
प्रहरी निरीक्षक सुधिर कुमार खड्काका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैका लागि एउटै दरखास्त फारामबाट आवेदन दिन सकिने र सम्पूर्ण छनोट प्रक्रिया एकीकृत रूपमा सञ्चालन गरिनेछ। थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा सम्पर्क गर्न सकिनेछ।



