- मंसिर २७, २०८२
- No Comment
- 78
अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो
सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात व्यवस्थापनमा देखिएका गम्भीर समस्याप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।
अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय र अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटीको संयुक्त पहलमा तयार गरिएको ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत तथा कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यालय, सुर्खेतमा बुझाइएको हो।
पत्रमार्फत क्याम्पस क्षेत्रभित्र तथा वरपर अनियन्त्रित सवारी आवागमन, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन नहुनु, सडक सुरक्षासम्बन्धी पूर्वाधारको अभाव र कमजोर ट्राफिक व्यवस्थापनका कारण विद्यार्थीहरूको दैनिक आवतजावत र शैक्षिक वातावरणमा प्रत्यक्ष असर परेको विषय उठान गरिएको छ। यस्ता समस्याका कारण विद्यार्थीहरू दुर्घटनाको जोखिममा परिरहेको र शैक्षिक गतिविधि समेत प्रभावित भइरहेको उल्लेख छ।
अनेरास्ववियुले विद्यार्थीहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न क्याम्पस क्षेत्रको व्यवस्थित ट्राफिक व्यवस्थापन, आवश्यक ट्राफिक संकेत, जेब्रा क्रसिङ, गति नियन्त्रणका उपाय तथा ट्राफिक प्रहरीको नियमित व्यवस्थापन तत्काल लागू गर्न औपचारिक माग अघि सारेको छ। समयमै सुधार नगरिए दीर्घकालीन रूपमा विद्यार्थी सुरक्षामा गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी पनि पत्रमा समेटिएको छ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै सम्बन्धित निकायहरूले विषयलाई गम्भीरतापूर्वक लिएको जनाउँदै आपसी समन्वयमार्फत समस्या समाधानका लागि छिट्टै पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका संयोजक चक्र कोइरालाले विद्यार्थीहरूको हकहित, सुरक्षा र शैक्षिक वातावरण सुधारका सवालमा संगठन निरन्तर जिम्मेवारीपूर्वक अघि बढ्ने बताए। उनले सरोकारवाला निकाय र विद्यार्थी समुदायको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थीका मुद्दामा एकताबद्ध आवाज उठाइने स्पष्ट पारे।
विद्यार्थीको सुरक्षा र सहज यातायात व्यवस्थापनलाई केन्द्रमा राखिएको यस पहलले क्याम्पस क्षेत्रको ट्राफिक व्यवस्थापन सुधारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।