- मंसिर १९, २०८२
- No Comment
- 34
सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू
सुर्खेत – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा बढ्दो अनियमितता र नक्कली परीक्षार्थीको प्रवेश रोक्न सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले बायोमेट्रिक प्रणाली लागू गरेको छ। कार्यालयले ‘टिबिएमएस’ बायोमेट्रिक पहिचान प्रणालीमार्फत परीक्षार्थीको उँगलाछाप मिलाएर मात्र परीक्षामा सहभागिता सुनिश्चित गर्ने व्यवस्था सुरु गरेको हो।
गत मङ्गलबारदेखि लागू भएको नयाँ प्रविधिसँगै करिब १९ महिनादेखि रोकिएको मोटरसाइकल र स्कुटर वर्गको परीक्षा पुनः सञ्चालनमा आएको कार्यालयले जनाएको छ। बिजनेस अनलाइन सर्भिसको सहकार्यमा सञ्चालन गरिएको यस प्रणालीअनुसार अब लिखित तथा प्रयोगात्मक दुवै परीक्षा साप्ताहिक रूपमा हुनेछन्।
यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख मुकुन्दनाथ योगीका अनुसार विगतमा नक्कली परीक्षार्थी प्रवेश, बिचौलियाको चाप र प्रशासनिक झन्झट बढेकाले नयाँ प्रणाली अनिवार्य भएको हो। “अब प्रमाणित परीक्षार्थी मात्र परीक्षामा सहभागी हुन्छन्। अनधिकृत व्यक्तिलाई प्रविधिकै आधारमा तुरुन्तै पहिचान गर्न सकिन्छ,” प्रमुख योगीले बताए।
पहिलोपटक लागू गरिएको प्रणालीमा एकपटकमा २०० जनासम्म प्रवेश गर्न सकिने संरचना रहेको छ। शुरुवाती चरणमा १३८ परीक्षार्थीले सहभागिता जनाएका छन्। साथै, कार्यालयले यस वर्षदेखि बिचौलियालाई कार्यालयभित्र प्रवेश पूर्णरूपमा निषेध गरेको छ। विगतमा बिचौलियाले फाइल व्यवस्थापनदेखि आवश्यक सम्पूर्ण जानकारी हेर्ने कार्यसमेत गर्दै आएका कारण यस्तो कदम चालिएको हो।
कार्यालयका विभिन्न फाँटहरूलाई एउटै भवनमा समेटेर सेवा सुव्यवस्थित गरिएको भनिएको छ। हाल २५ दरबन्दीमध्ये १५ कर्मचारी मात्र कार्यरत भएकाले जनशक्ति अभाव चुनौती बनेको र थप कर्मचारीका लागि माथिल्लो निकायलाई अनुरोध गरिएको कार्यालयले जनाएको छ।
नयाँ प्रविधिको प्रयोगसँगै लाइसेन्स परीक्षा प्रणाली अझ पारदर्शी, सुरक्षित र नियमित हुने अपेक्षा गरिएको छ।