- साउन १५, २०८२
- No Comment
- 78
चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४ अझै बेपत्ता
बेइजिङ । चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान हराएको यात्रुवाहक बसका १० जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता रहेका छन्। मुसलधारे वर्षाका कारण डाटोङ सहरमा उक्त बस बेपत्ता भएको थियो।
सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार, एक जनाको शव पहिले नै घटनास्थलभन्दा तलको क्षेत्रमा फेला परेको थियो भने पछिल्लो खोज तथा उद्धार कार्यमा थप शवहरू भेटिएका हुन्। उद्धार टोली अझै पनि हराइरहेका व्यक्तिहरूको खोजीमा खटिएको छ।
यो दुर्घटना यस साता उत्तरी चीनमा परेको अत्यधिक वर्षा र बाढीको बीचमा भएको हो, जसले हालसम्म ४८ जनाको ज्यान लिइसकेको छ। हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौं घरहरू डुबानमा परेका छन्। सडक अबरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ।
राजधानी बेइजिङमै मात्रै ३० जनाको मृत्यु भइसकेको छ, सबैभन्दा धेरै क्षति मियुन उपनगरमा भएको जनाइएको छ। बेइजिङ वरपरको हेबेइ प्रान्तमा पनि पहिरोले ८ जनाको ज्यान लिएको र ४ जना अझै बेपत्ता रहेको जनाइएको छ।
प्रत्येक गर्मीयाममा चीनमा यस्ता प्राकृतिक विपत्तिहरू दोहोरिने गरेका छन्। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण वर्षा, बाढी र तापमानका चरम घटना थप तीव्र र बारम्बार भइरहेका छन्।