• साउन १३, २०८२
  • No Comment
  • 69

बराहताल गाउँपालिकाले पहिलो चरणमै २४६९ घरधुरीलाई घर बीमा योजनामा समेट्यो

बराहताल — कर्णाली प्रदेश सरकारले सुरु गरेको घर बीमा कार्यक्रम अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिकामा पहिलो चरणमै २४६९ घरधुरीले बीमा सुविधा प्राप्त गरेका छन्। प्राकृतिक विपद्‌बाट घर र सम्पत्तिमा हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि यो योजना कार्यान्वयनमा ल्याएको हो।

बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीका अनुसार, कर्णाली प्रदेश प्राकृतिक विपद् जोखिम बढी हुने क्षेत्र भएकाले बीमा कार्यक्रमले स्थानीयवासीलाई ठूलो राहत दिएको छ।

बीमित घरधुरीले अधिकतम २० लाख रुपैयाँसम्मको क्षतिपूर्तिको सुविधा पाउनेछन्। सो रकमभन्दा बढी हुने बीमा खर्च भने घरधनी स्वयंले व्यहोर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ।

गाउँपालिकाले बीमा योजनालाई थप प्रभावकारी बनाउन समन्वय र प्रवर्द्धनमा सक्रियता देखाएको छ। अध्यक्ष भण्डारीले बीमाजस्ता सुरक्षात्मक कार्यक्रमले विपद्‌का बेला नागरिकले भोग्नुपर्ने आर्थिक भार कम गर्ने भएकाले यो योजनालाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए।

कर्णाली प्रदेश सरकारले आगामी वर्षमा यो योजनालाई अझ व्यवस्थित र व्यापक बनाउँदै बढी घरधुरीलाई समेट्ने तयारी गरिरहेको छ। घर बीमाले भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ लगायतका जोखिमबाट हुने क्षतिलाई कभर गर्नेछ।

यस योजनाले विपद् जोखिम न्यूनीकरणसँगै ग्रामीण बस्तीको सुरक्षामा नयाँ आशा थपेको स्थानीयवासीले प्रतिक्रिया जनाएका छन्।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *