- साउन ९, २०८२
- No Comment
- 160
विपद्सँग लड्न वीरेन्द्रनगरमा दक्ष स्वयंसेवक तयार: अब जोखिम न्यूनीकरणमा समुदायकै अग्रसरता
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा विपद्का घटनाहरूसँग जुध्नका लागि २५ जना दक्ष स्वयंसेवक तयार भएका छन्। वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा आयोजना गरेको सात दिने आधारभूत तालिमपछि उनीहरू विपद् प्रतिकार्यका लागि सक्षम भएका हुन् । बिहीबार सम्पन्न तालिममा नगर प्रहरी र बाढी तथा डुबानबाट प्रभावित क्षेत्रका स्थानीय युवाहरूले सहभागिता जनाएका थिए । तालिममा उनीहरूलाई विपद्को समयमा तत्काल गर्नुपर्ने खोज, उद्धार, प्राथमिक उपचार, र पूर्व सूचना प्रणाली जस्ता महत्त्वपूर्ण विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको थियो ।
नेपालमा हरेक वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति पुर्याउने गरेको छ। यस्तो क्षतिलाई न्यूनीकरण गर्न स्थानीय स्तरमा नै दक्ष जनशक्ति तयार पार्नु अपरिहार्य छ । यही आवश्यकतालाई मध्यनजर गर्दै युरोपियन युनियनको आर्थिक सहयोग र युएनडिपी, युनिसेफ जस्ता संस्थाहरूको समन्वयमा यो तालिम सञ्चालन गरिएको हो। तालिम प्राप्त स्वयंसेवकहरूले अब कुनै पनि आपतकालीन अवस्थामा तत्काल प्रतिकार्य गरी क्षति न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। समापन कार्यक्रममा कार्यवाहक नगरप्रमुख निलकण्ठ खनालले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै प्रमाणपत्र वितरण गरेका थिए ।