- साउन ७, २०८२
- No Comment
- 144
भेरी करिडोरमा विकासको गति: अबको दुई वर्षमा पाँच पुल, रोकिएका काम पनि सुचारु हुने
सरकारले कर्णाली प्रदेशको विकासको मेरुदण्ड मानिएको भेरी करिडोर निर्माणलाई तीव्रता दिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा बोल्दै जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ मध्ये ५ वटा महत्वपूर्ण पुल आगामी दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने घोषणा गरेका छन्। सांसद मायाप्रसाद शर्माको प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले यो प्रतिबद्धता जनाएपछि स्थानीयमा खुसियाली छाएको छ। आगामी दुई वर्षमा झिम्री खोला, नलगाडा खोला, चौखा खोला, तात्र खोला र तासु खोलामा पुल बनेपछि त्यस क्षेत्रको यात्रा सहज हुनेछ।
यो त सुरुवात मात्र हो। सरकारले चालू आर्थिक वर्षदेखि नै रिजिगाड, चुगाड, उसुमखोला र गल्लीगाड खोला लगायत थप आठ वटा पुलको निर्माण पनि तीन वर्षभित्र सक्ने योजना बनाएको छ। तर, विकासको यो यात्रामा केही पुराना बाधा पनि छन्। २०६८ सालमा मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी पुलको ठेक्का पाएको वाईपी कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोडिएको थियो। पटक-पटक बोलपत्र आह्वान गर्दा पनि सफल नभएको उक्त पुलको काम अब लागत अनुमान पुनरावलोकन गरी आर्थिक वर्ष २०८२/८३ मा जसरी पनि अघि बढाउने मन्त्री दाहालले स्पष्ट पारेका छन्। यसले वर्षौंदेखि अधुरो रहेको पुल बन्ने आशा फेरि जगाएको छ।