• साउन ७, २०८२
  • No Comment
  • 73

हिमपहिरोको डरले हुम्लाको तिलगाउँ नै रित्तिँदै: २३ परिवारको सामूहिक बसाइँसराइ

हुम्ला। लगातारको हिमपहिरो र त्यसले निम्त्याएको मनोवैज्ञानिक त्रासका कारण हुम्लाको विकट नाम्खा गाउँपालिका-६ मा रहेको तिलगाउँका बासिन्दाले पुस्तौंदेखिको आफ्नो थातथलो छाड्ने पीडादायी निर्णय गरेका छन्। गत जेठमा हिमताल फुटेर आएको पहिरोको विनाशलीला प्रत्यक्ष भोगेका यहाँका २३ घरधुरीले सिंगो गाउँ नै खाली गरेर सामूहिक बसाइँसराइ गर्ने अन्तिम तयारी गरेका हुन्।

गत जेठ १ गतेको त्यो कालो दिन सम्झँदा तिलगाउँवासी अझै झस्किन्छन्। हिमताल फुटेर आएको पहिरोले गाउँ नै जोखिममा पारेपछि उनीहरूको मनबाट चैन हराएको छ। त्यसयता, उनीहरूले आफ्नो घरमा ताला लगाएर नजिकैको सुरक्षित चौरमा पाल टाँगेर रात बिताउँदै आएका छन्। दिनमा घरको रेखदेख र खेतीपातीका लागि गाउँ पसे पनि रात परेपछि सबैजना त्रिपालमुनिको अस्थायी बासमा फर्कन बाध्य छन्।

“त्यो रात कसरी बाँचियो भन्ने सम्झेर अझै डर लाग्छ। अब यहाँ एकछिन पनि सुरक्षित महसुस हुँदैन,” स्थानीय छिरिङ्बा लामाले आफ्नो पीडा पोख्दै भने, “ज्यानभन्दा ठूलो केही होइन। त्यसैले हामीले गाउँ नै छाड्ने निर्णय गरेका हौँ।”

नाम्खा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार गाउँलेहरूको निर्णय निकै दृढ भएकाले स्थानीय स्तरबाट उनीहरूलाई रोक्न सक्ने अवस्था छैन। “उहाँहरूको माग स्पष्ट छ – सुरक्षित बसोबासको ग्यारेन्टी,” तामाङले भने, “यदि प्रदेश वा संघीय सरकारले उनीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने गरी कुनै ठोस योजना अघि सार्न सके मात्र यो बसाइँसराइ रोकिन सक्छ, अन्यथा तिलगाउँ अब केही महिनामै मानवविहीन हुने निश्चित छ।”

तिलगाउँको यो घटनाले प्राकृतिक विपद् र जलवायु परिवर्तनको असरका कारण हिमाली क्षेत्रका परम्परागत बस्तीहरू कसरी विस्थापनको सँघारमा पुगेका छन् भन्ने कटु यथार्थलाई फेरि एकपटक उजागर गरेको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *