- साउन ४, २०८२
- No Comment
- 177
कालिकोटमा छुट्टाछुट्टै घटनामा दुई युवाको ज्यान गयो

कालिकोट — कालिकोटको शुभकालिका गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई युवाले ज्यान गुमाएका छन्। एक जनाको स्थानीय भीरबाट लडेर र अर्का जनाको भारतमा करेन्ट लागेर मृत्यु भएको हो।
शुभकालिका–६ हाउडीका ३८ वर्षीय राजाराम आचार्यको मृत्यु घाँस काटेर घर फर्किने क्रममा भएको हो। मरिलोपाटा क्षेत्रमा रहेको भीरमा चिप्लिएर करिब ३ सय मिटर तल खसेपछि उनको घटनास्थलमै ज्यान गएको कालिकाेट प्रहरीले जानकारी दिएकाे छ। आचार्यको शनिबार दाहसंस्कार गरिएको छ।
त्यसैगरी, शुभकालिका–५ का २३ वर्षीय मनराज शाहीको भारतमा करेन्ट लागेर ज्यान गएको हो। मजदुरीका लागि एक वर्षअघि भारत गएका शाहीको बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो। घटनाबारे जानकारी दिँदै उनका नातेदार सीता शाहीले शव घर ल्याउन पहल भइरहेको बताइन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीका अनुसार जिल्लामा भीरबाट लडेर मृत्यु हुने घटनाहरू निरन्तर बढ्दै गएका छन्। उनका अनुसार गत एक वर्षमा मात्रै यस्ता घटनामा ४३ जनाको मृत्यु भइसकेको छ।
स्थानीय तह तथा सरोकारवाला निकायले जनताको सुरक्षाका लागि आवश्यक सतर्कता र पूर्वतयारी गर्नुपर्ने आवाज उठ्न थालेको छ।



