- साउन ४, २०८२
- No Comment
- 97
आज देशभर बदली हुने पूर्वानुमान
साउन ४ – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर सरेकोले देशभर विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार ती क्षेत्रका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षा समेत हुनसक्ने अनुमान गरिएको छ। यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति देशभर साधारणतया बदली हुने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा समेत मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको मौसम बुलेटिनमा उल्लेख छ।
विभागले भारी वर्षाका कारण पहिरो, बाढी र डुबानको जोखिम रहेको भन्दै सतर्कता अपनाउनसमेत सबैलाई आग्रह गरेको छ।