- असार ९, २०८२
- No Comment
- 18
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, आज बिहान करिब ७ बजेतिर आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा दिक्षालाई सर्पले टोकेको थियो। सर्पले टोकेपछि उनी बेहोस भएकी थिइन्।
परिवारका सदस्यले बिहान सवा ९ बजे इलाका प्रहरी कार्यालय, जगतीपुरमा घटनाबारे जानकारी दिएका थिए। खबर पाउनासाथ प्रहरी नायब निरीक्षक (प्र.स.नि.) कमल बटालाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले तत्काल घाइते बालिकालाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाएको थियो। उनको अवस्था सुरुदेखि नै गम्भीर रहेको प्रहरीले जनाएको छ।
अस्पतालमा उपचारकै क्रममा बिहान ११:२० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।