- असार ७, २०८२
- No Comment
- 172
सुब्बाकुनाबाट बिलबिनाका सामानसहित दुई गाडी प्रहरी नियन्त्रणमा

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिल बिजक बिना अवैध रूपमा सामान ढुवानी गरिरहेका दुई वटा फोर्स गाडी नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर नगरपालिका-११ स्थित सुब्बाकुना चेकपोष्टमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो करिब १२ बजे ती गाडीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) तपेन्द्र शाहीको कमाण्डमा खटिएको टोलीले नियमित जाँच गर्ने क्रममा नेपालगञ्जबाट अछामतर्फ जाँदै गरेको क.प्र.०२००१ ख.०१३५ नम्बरको फोर्स गाडीबाट बिल नभएका ६० थान ठूलो छाता र ४० थान सानो छाता बरामद गरेको हो।
त्यसैगरी, नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको लु.२ ख. ६९४७ नम्बरको अर्को फोर्स गाडीको जाँच गर्दा एक थान इलेक्ट्रोनिक हाते आरा (मेसिन) बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानहरूको कुनै बिल बिजक वा कानुनी कागजात नभेटिएकाले दुवै गाडी र सामान नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। आवश्यक अनुसन्धान र कारबाहीका लागि बरामद सामान र गाडीहरूलाई राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।



