- जेष्ठ ११, २०८२
- No Comment
- 26
तिलामा असिनापानीले स्याउसहितका बालीमा ठूलो क्षति

जुम्ला। जुम्लाको तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिना पानीले ठूलो कृषि क्षति पुर्याएको छ। असिना सहितको वर्षाले विशेषगरी राँस, मालपानी खोप्री, ढिपु गाउँका स्याउ बगैँचासहित विभिन्न बालीमा गम्भीर क्षति पुर्याएको हो।
वडाध्यक्ष धनबहादुर रावतका अनुसार करिब आधा फिट जति असिना परेको थियो, जसले पाकेर तयार भएका बाली खेतमै झारिदिएको छ। “सिमी, आलु, मकै, गहुँ, फापरलगायतका बालीनाली पूर्ण रूपमा नष्ट भएका छन्,” उनले जानकारी दिए।
स्याउ र ओखर जस्ता नगदे बालीसमेत प्रभावित भएका छन्। राँसा गाउँका ११० र मालपानी गाउँका ६८ घरधुरी असिनापानीबाट प्रभावित भएको वडाध्यक्ष रावतले बताए।
क्षतिको विवरण संकलन गरी राहतका लागि स्थानीय सरकार र प्रशासनसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए। प्रभावित किसानहरुले तत्काल राहत र क्षतिपूर्तिको माग गरेका छन्।