- जेष्ठ ५, २०८२
- No Comment
- 110
किरियापुत्री भवन बनाउन महायज्ञ
पितृमुक्ति (किरियापुत्री) भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद् भागवत महायज्ञ सुरु गरिएको छ। पितृमुक्तिका लागि १३ दिनसम्म गरिने कियाकर्मका लागि भवन निर्माण गर्न लागिएको हो। केही समयअघि निर्माण थालिएको उक्त भवन अधुरो रहेकाले निर्माण कार्य पूरा गर्न जेठ ४ गतेदेखि महायज्ञ गर्न लागिएको हो ।
सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले अधुरो भवन पूरा गर्न महायज्ञ लगाउन लागेको जानकारी दिएका हुन्। उनले भने,‘महायज्ञबाट उठेको दानबाट भवन निर्माण, अक्षयकोष स्थापना र पुस्तकालय बनाउने योजना छ ।’ १० गतेसम्म सञ्चालन हुने महायज्ञमा मञ्जरी राधिका दाशीले कथावाचन गर्नेछिन्। ‘किरियापुत्री भवन निर्माण जस्तो सामाजिक कार्य पूरा गर्न ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ?’ भन्ने अभियानलाई सार्थकता दिन महायज्ञ गर्न लागेका हौँ’, उनले भने ।
महायज्ञ सफल पार्न १७ वटा उपसमिति बनाइएको छ।
समाजका अनुसार २०६९ सालको पुराणबाट उठेको रकमबाट यो भवन निर्माण सुरु भएको हो।
भवन बहुउद्देश्यीय हुनेछ । पाँच आना दुई पैसा जग्गामा तीन तला भवन निर्माण भइसकेको छ। भवन निर्माण, शौचालय, ढिकोरो उठाउन सहित गरी एक करोड ६३ लाख रुपैयाँ खर्च भएको छ।