• जेष्ठ ४, २०८२
  • No Comment
  • 74

तरूण दल लमजुङको अधिवेशनमा खुकुरी हानाहान : पाँच घाइते 

लमजुङ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा प्रतिनिधि छनोटको विषयमा उत्पन्न विवादले हिंसात्मक रुप लिँदा खुकुरीसहितको आक्रमण भएको छ। सोमबार भएको घटनामा पाँच जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

घाइतेमध्ये बेसीसहर–९ का वडाध्यक्ष तथा तरूण दल क्षेत्रीय सभापति खुसीजंग गुरूङ र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी गम्भीर घाइते छन्। उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन रेफर गरिएको छ। अन्य तीन घाइते — शंकर सापकोटा, किशोर बस्नेत र धनबहादुर तामाङको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

लमजुङका प्रहरी प्रमुख डीएसपी रेशम बोहोराका अनुसार दोषीको खोजी भइरहेको र घाइते पक्षबाट किटानी जाहेरी दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको  छ । हालसम्म भने कसैलाई पक्राउ गरिएको छैन।

तरूण दलको विधान अनुसार प्रत्येक वडाबाट चार प्रतिनिधि र समावेशी प्रतिनिधिको छनोट आवश्यक हुन्छ। साथै, ३५ जना भन्दा बढी सदस्य रहेको वडाबाट एक जिल्ला प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था छ। तर अधिवेशनमा धेरै वडाबाट प्रतिनिधि चयन नगरी खाली पाना राखिएको भन्दै विवाद उत्पन्न भएको थियो।

लमजुङका ८ स्थानीय तहअन्तर्गत ७२ वडामध्ये थुप्रै वडाबाट प्रतिनिधि छनोट नभएको तरूण दलका एक नेताले बताएका छन्। सुन्दरबजार नगरपालिकाको धुसेनीजस्ता स्थानहरूबाट प्रतिनिधि नै नआएको जनाइएको छ।

घटनाको पछाडि नेपाली कांग्रेसभित्रको आन्तरिक गुटगत प्रतिस्पर्धा पनि रहेको देखिन्छ। शेरबहादुर देउवा पक्ष र शेखर कोइराला–गगन थापा पक्षबीच अधिवेशन कब्जा गर्न प्रतिस्पर्धा भएको आरोप दुवै पक्षले लगाएका छन्।

शेखर–गगन पक्षले देउवा पक्षले अधिवेशन कब्जा गर्न हतियारसहित आक्रमण गरेको दाबी गरेका छन्। आक्रमणमा गम्भीर घाइते भएका सबै जना शेखर–गगन पक्षका कार्यकर्ता भएको उनीहरूको दाबी छ।

वन तथा वातावरणमन्त्री तथा शेखर–गगन पक्षका नेता भेषबहादुर पौडेलले घटनालाई योजनाबद्ध आक्रमणको संज्ञा दिँदै अधिवेशन कब्जा गर्ने नियतले हमला भएको बताए। उनले स्वच्छ प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न संगठन विधान अनुसार चलाउन माग गरे।

यता, देउवा पक्षका जिल्ला सभापति तथा गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरूङले बाहिरबाट आक्रमण भएको प्रतिक्रिया दिएका छन्। उनले अधिवेशनमा बाहिरका व्यक्तिहरूले हुलहुज्जत गरेर हमला गरेपछि प्रतिक्रिया स्वरूप घटना भएको दाबी गरे।

उनले पार्टी नेतृत्वबाट घटना सम्बन्धी छलफल गरिने र प्रहरीमार्फत निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गरिने बताए।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *