- जेष्ठ २, २०८२
- No Comment
- 97
मोरङमा ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
विराटनगर मोरङमा ट्यांकर र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ पुरानो मंगलबारेमा बिहीबार राति ११ः१५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पश्चिमतर्फ आउँदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख २१८७ नम्बरको ट्यांकर एकआपसमा ठोक्किएको बताए ।
ट्यांकरमा चिनी मिलबाट निस्किएको छुवा लोड गरिएको पाइएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको जानकारी डीएसपी जोशीले दिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहानका राति १ः३५ बजेतिर झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो ।
उर्लाबारीकै मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा सम्भव नभएपछि लिम्बूलाई थप उपचारका लागि बी एन्ड सी लगिएको थियो । ट्यांकर र चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २९ वर्षीय अशोक थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सडकमा गुडिरहेको ट्यांकरसँग मोटरसाइकल ठोक्किएको सीसी क्यामेरा फुटेजमा देखिन्छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।