- बैशाख २३, २०८२
- No Comment
- 105
जाजरकोटमा फाइबर तार काटिँदा डोल्पामा इन्टरनेट अवरुद्ध
डोल्पा। अज्ञात व्यक्तिले जाजरकोट जिल्लाको तल्नुबगरमा नेपाल टेलिकमको फाइबर इन्टरनेटको तार काटेपछि डोल्पामा इन्टरनेट सेवा ३६ घण्टासम्म अवरुद्ध भएको छ। घटनापछि प्रभावित इन्टरनेट सेवा सोमबार बेलुकी मात्रै पुनः सुचारु गरिएको छ।
नेपाल टेलिकमको रुकुमपश्चिमको राडीज्युला हुँदै डोल्पासम्म फैलिएको फाइबर लाइन अज्ञात व्यक्तिले काटेपछि सेवा दुई दिन अवरुद्ध भएको हो। टेलिकमको जाजरकोटस्थित प्राविधिक टोलीले क्षतिग्रस्त फाइबर तार मर्मत गरेपछि मात्र इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको हो।
“यस पटक दुई पटक इन्टरनेटको फाइबर तार काटियो, तर अहिलेसम्म व्यक्ति पहिचान हुन सकेको छैन,” दूर सञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले बताए। उनले बारम्बार सेवा अवरुद्ध हुँदा सरकारी कामकाज प्रभावित हुनुका साथै सेवाग्राहीको विश्वास पनि घट्ने बताए। “दोषी पहिचान गरी कानुनी कारबाही गर्न आवश्यक छ,” उनले थपे।
सोमबार बिहान सेवा अवरुद्ध हुँदा कक्षा १२ को परीक्षा पनि प्रभावित भएको थियो। सात बजे नै परीक्षा हलमा प्रवेश गराइएका विद्यार्थीलाई ढिलै प्रश्नपत्र वितरण गरिएको थियो, जसका कारण परीक्षा प्रक्रिया नै प्रभावित भएको शिक्षा क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्।