- बैशाख २०, २०८२
- No Comment
- 10
गोवाको देवी मन्दिरमा भागदौड: ६ जनाको मृत्यु, १५ जना घाइते

गोवा ।उत्तरी गोवाको शिरगाउँस्थित प्रसिद्ध श्री लैराई देवी मन्दिरमा मंगलबार बिहानको समयमा भागदौड हुँदा छ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार, गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौं श्रद्धालु सहभागी भएको मेला भीडभाडका कारण दुर्घटनामा परिणत भएको हो।
घटनापछि गोवाका मुख्यमन्त्री प्रमोद सावन्त घाइतेहरूको अवस्थाबारे जानकारी लिन मापुसास्थित उत्तरी गोवा जिल्ला अस्पताल पुगेका थिए।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार भागदौडको सही कारण अझै खुलेको छैन र घटनाबारे अनुसन्धान भइरहेको छ। मन्दिर परिसरमा भीड व्यवस्थापनमा समस्या आएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरी तथा स्थानीय प्रशासनले आवश्यक सुरक्षा व्यवस्थालाई कडा बनाएको र घाइतेहरूको उपचार भइरहेकाले जनतालाई शान्त रहन आग्रह गरेको छ।