- बैशाख १९, २०८२
- No Comment
- 61
वीरेन्द्रनगरमा रोकिएको भूमि समस्या समाधान प्रक्रिया सुरु हुने

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले लामो समयदेखि रोकिएको भूमि सम्बन्धी समस्या समाधान प्रक्रिया अघि बढाउने भएको छ। भूमि समस्या समाधान समितिअन्तर्गतको नगर सहजीकरण समितिले निर्णय गरेको हाे ।
नगरप्रमुख मोहनमाया ढकालका अनुसार, अघिल्लो पटक भूमि आयोग विघटन भएपछि रोकिएको प्रक्रिया अब सुरु गरिनेछ। उनले भनिन्, “बैठकले रोकिएको काम तत्काल अघि बढाउने निर्णय गरेको छ। हामीले वडाहरूलाई समेटेर क्रमशः प्रक्रिया अघि बढाउँछौं।”
ढकालले पहिलाे चरणमा वडा नं. १ र २ मा नापजाँचको काम सुरु गरिने जानकारी दिइन्। उनले नगरपालिकालाई व्यवस्थित बनाउन भूमिसम्बन्धी समस्या समाधान प्राथमिकता रहेको बताउँदै भनिन्, “वीरेन्द्रनगरलाई व्यवस्थित बनाउने हाम्रो प्रतिबद्धता छ, त्यसअनुसार हामी अघि बढ्नेछौँ।”
यस निर्णयले लामो समयदेखि अनिश्चिततामा रहेका स्थानीय बासिन्दाहरूलाई आशा दिएको छ। भूमिको दर्ता, नापजाँच, स्वामित्वको स्पष्टता जस्ता विषयमा समाधान ल्याउने लक्ष्यसहित नगरपालिकाले प्रक्रिया अघि बढाउने तयारी गरेको हो।