- बैशाख १९, २०८२
- No Comment
- 17
आज देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। त्यसको असरस्वरूप देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
रातिको मौसम पूर्वानुमानअनुसार, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रको मौसम प्रायः सफा रहनेछ। यस्तै, कोशी र गण्डकीका पहाडी क्षेत्रमा एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि रहेको छ।
यसका साथै, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने भएकाले त्यहाँ विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।