- बैशाख १८, २०८२
- No Comment
- 28
कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने : गलत हल्लामा नपर्न बोर्डको आग्रह

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै हुने स्पष्ट पारेको छ। बोर्डले हालै सामाजिक सञ्जालमा फैलिएका विभिन्न भ्रामक सूचनाहरूप्रति आपत्ति जनाउँदै विद्यार्थी, अभिभावक र सरोकारवालाहरूलाई यस्ता गलत प्रचारप्रसारमा नलाग्न अनुरोध गरेको हो।
बोर्डका अनुसार कक्षा १२ को परीक्षा आगामी वैशाख २१ देखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुनेछ। यसअघि शिक्षक आन्दोलनका कारण परीक्षा मिति केही पर सरेको भए पनि, अब महासङ्घसँगको सहमतिपछि परीक्षा निर्धारित तालिकाअनुसार नै हुने निश्चित भएको छ।
बोर्डले सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी फैलाइएका अनधिकृत र भ्रामक सूचनाहरूका पछाडि नलाग्न चेतावनी दिएको छ। साथै, बोर्डले आफूले कुनै पनि फेसबुक पेज सञ्चालन नगरेको र सबै आधिकारिक सूचना केवल आफ्नो वेबसाइटमार्फत मात्र प्रकाशित हुने स्पष्ट पारेको छ।
बोर्डले एक सार्वजनिक सूचनामार्फत सबै परीक्षा केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, अभिभावक तथा सरोकारवाला सबैलाई परीक्षाको मर्यादित, व्यवस्थित र सफल सञ्चालनमा सहयोग गर्न पनि अनुरोध गरेको छ।