- बैशाख १८, २०८२
- No Comment
- 24
दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिने तयारीमा बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले २,०८२ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेको छ। उक्त तालिम महानगरको गौरव योजना अन्तर्गत जेठ ७ गतेदेखि टुँडिखेलमा सुरु हुने भएको हो।
महानगर प्रमुख बालेन शाह ले सामाजिक सञ्जालमार्फत तालिम कार्यक्रमको जानकारी दिँदै भनेका छन्, “सीप नजान्नेहरूलाई नयाँ सीप सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूलाई स्तरोन्नति गराउने र बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने यो तालिमको मुख्य उद्देश्य हो।”
कार्यक्रम ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ भन्ने नाराका साथ सञ्चालन गरिनेछ। यसमार्फत बेरोजगार युवाहरूलाई व्यावसायिक सीप सिकाई रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ।
महानगरले गत वर्ष श्रमिक दिवस २०८१ मा पहिलोपटक टुँडिखेलमा ‘सीप मेला’ आयोजना गरेको थियो। उक्त मेलाबाट ६८,८६६ जनाले आवेदन दिएका थिए भने २,५७५ जनालाई तालिम प्रदान गरिएको थियो। तीमध्ये ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर पाएको बालेनले उल्लेख गरेका छन्।
उनका अनुसार धेरै सहभागीहरू स्वरोजगारमा संलग्न भइसकेका छन् भने बाँकी बेरोजगारहरूका लागि महानगरले उद्योग तथा कम्पनीहरूसँग सहकार्य गर्दै ‘अन द जब ट्रेनिङ’ पनि सञ्चालन गरिरहेको छ।
काठमाडौं महानगरपालिकाको यो पहलले युवा लक्षित रोजगारी सिर्जना र सीप विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।