- बैशाख ४, २०८२
- No Comment
- 21
रियाल मड्रिडविरुद्ध आर्सनलकाे शानदार जित

काठमाडौं – ग्याब्रियल मार्टिनेलीले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि इंग्लिस क्लब आर्सनलले च्याम्पियन्स लिगमा रियाल मड्रिडमाथि २-१ को शानदार जित हात पारेको छ। समग्रमा ५-१ को नतिजा बनाउँदै आर्सनलले १६ वर्षपछि प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
पहिलो लेगमा ३-० को फराकिलो जित निकालेको आर्सनलले दोस्रो लेगमा पनि स्यान्टियागो बर्नाबेउमै डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडलाई स्तब्ध बनायो। कीर्तिमानी १५ पटकको च्याम्पियन रियाल लगातार दुई लेगमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
खेलको पहिलो हाफमा आर्सनलले पेनाल्टीको मौका पाए पनि बुकायो साकाले त्यसलाई सदुपयोग गर्न सकेनन्। रियालका गोलकिपर थिबाउ कोट्र्वाले साकाको प्रहार रोक्दै टोलीलाई खेलमा राखे। साका च्याम्पियन्स लिगको क्वाटरफाइनल वा त्योभन्दा पछि पेनाल्टी मिस गर्ने पहिलो आर्सनल खेलाडी बने।
त्यसपछि डेक्लान राइसले किलियन एम्बाप्पेलाई रोक्दा पेनाल्टी दिइएको थियो, तर VAR समीक्षा पछि त्यो निर्णय उल्ट्याइएको थियो।
६५औं मिनेटमा साकाले डेडलक तोडेपछि आर्सनलले १-० को अग्रता लिएको थियो। दुई मिनेटमै विलियम सालिबाको गल्तीको फाइदा उठाउँदै भिनिसियस जुनियरले गोल गरे र खेललाई बराबरीमा ल्याए। तर अन्तिम समयतिर मिकेल मेरिनोको पासमा ग्याब्रियल मार्टिनेलीले उत्कृष्ट फिनिश गरेपछि आर्सनलको जित सुनिश्चित भयो।
अब सेमिफाइनलमा आर्सनलको भिडन्त फ्रेञ्च क्लब पेरिस सेन्ट-जर्मेन (PSG) सँग हुनेछ। पहिलो लेग अप्रिल ३० मा र दोस्रो लेग मे ७ मा खेलिनेछ।