- चैत्र २६, २०८१
- No Comment
- 73
हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए

सुर्खेत — डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो ध्रुव संरक्षण संस्थाले गरेको अध्ययनमा हुम्लाको नाम्खा गाउँपालिकामा ३९ वटा हिउँ चितुवा रहेको पत्ता लागेको छ। दुर्लभ मानिने हिउँ चितुवाको यो तथ्याङ्क ‘क्यामेरा ट्र्यापिङ’ प्रविधिबाट संकलन गरिएको हो।
सन् २०२२ देखि २०२३ सम्म सञ्चालन गरिएको उक्त अध्ययनका क्रममा ६१ वटा क्यामेरा जडान गरी गरिएको अनुगमनबाट ३९ वटा हिउँ चितुवा कैद गरिएको हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले जानकारी दिए।
अध्ययनका क्रममा हुम्ला सदरमुकाम सिमिकोटबाट पाँच दिन पैदल हिँडेर लिमी क्षेत्र हुँदै, घोडा र खच्चरको सहायताले आवश्यक सामग्री बोकेर चितुवा पाइने स्थानमा पुगिएको थियो।
सहायक वन अधिकृत बाबुलाल बम्जनका अनुसार, यो तथ्याङ्क नाम्खा गाउँपालिकाभित्रको मात्रै हो। “सरकारले सन् २०२४ देखि २०३० सम्म हिउँ चितुवा गणना तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ,” उनले भने।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँ चितुवाको गणनाको काम सम्पन्न भइसकेको जानकारी दिँदै संरक्षणका लागि स्थानीय सरकारले पनि विशेष कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताए।
यसअघि माथिल्लो डोल्पामा पनि हिउँ चितुवा पाइएकाले हुम्लामा समेत पाइने अनुमान गरिएको थियो। नाम्खा गाउँपालिका चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको क्षेत्र हो, जसको कुल क्षेत्रफल करिब २,४१९.६४ वर्ग किलोमिटर रहेको छ।
सरकार र सरोकारवाला निकायले यस्ता दुर्लभ वन्यजन्तुहरूको संरक्षणमा प्राथमिकता दिँदा जैविक विविधता तथा वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ।