- चैत्र २५, २०८१
- No Comment
- 95
पछिल्लो समय जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै
जुम्ला – जुम्लामा पछिल्लो समय परिवार नियोजन सेवामा जनचासो र सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका अनुसार विशेष गरी पुरुषहरूले स्थायी बन्ध्याकरण सेवातर्फ आकर्षण देखाएका छन्।
कार्यालयले चालु वर्षमा १०० पुरुषलाई स्थायी बन्ध्याकरण सेवा दिने लक्ष्य राखेको थियो। हालसम्म ९३ जनाले सेवा प्राप्त गरिसकेका छन्। यो संख्या लक्ष्यको झण्डै ९३ प्रतिशत पुगेको हो।
जनचेतना अभिवृद्धि र सेवा प्रभावकारिता सुनिश्चित गर्न जिल्लाका विभिन्न स्थानीय तहमा परिवार नियोजन शिविरहरू सञ्चालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। सुनौलो परिवार नेपाल, केन्द्रीय कार्यालय काठमाडौँको प्राविधिक सहयोगमा यी शिविरहरू सञ्चालन गरिएका हुन्।
यस्तै, पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा भएको शिविरमा १५ पुरुष र १५ महिला, जनाले सेवा लिएका छन् । कनकासुन्दरी गाउँपालिकाको हाटसिँजा स्वास्थ्य चौकीमा भएको शिविरमा १३ पुरुष, एक महिला, गुठीचौरको आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा १० पुरुष र चार महिलाले सेवा लिएको सूचना अधिकारी सौमैले बताए । यस्तै, तातोपानी गाउँपालिकाको ताम्तीलामा बजारमा भएको शिविरमा आठ पुरुष, २६ महिला, हिमाको बड्की स्वास्थ्य चौकीमा भएको शिविरमा चार पुरुषले स्थायी बन्ध्याकरण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।
जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी प्रेम सौमैका अनुसार यही चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएका शिविरहरूले परिवार नियोजन सेवाप्रति समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
चन्दननाथ नगरपालिकामा भने नियमित रूपमा स्थायी बन्ध्याकरण सेवा उपलब्ध गराइँदै आएको छ। शिविरहरूमा पुरुषहरूका लागि स्थायी बन्ध्याकरण र महिलाहरूका लागि अस्थायी इम्प्लान्ट सेवा दक्ष चिकित्सकद्वारा प्रदान गरिएको थियो।
स्थानीय तहहरूको सहयोग, स्वास्थ्य संस्थाहरूको समन्वय र समुदायको सक्रिय सहभागिताले जुम्लामा जनस्वास्थ्यको क्षेत्रमा सकारात्मक संकेत दिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले बताएको छ।