- चैत्र २४, २०८१
- No Comment
- 142
गणतन्त्रको पक्षमा एमाले सुर्खेतद्वारा चैत २६ मा बृहत जनजागरण सभा हुदैँ
सुर्खेत। नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सृजना गर्ने उद्देश्यले चैत २६ गते वीरेन्द्रनगरमा बृहत जनजागरण सभा गर्ने भएको छ। मंगलगढी चोकबाट सुरु हुने ¥याली पिपल चौतारामा सभामा परिणत हुने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा एमाले सुर्खेत अध्यक्ष कुलमणी देवकोटाले जनजागरण अभियानअन्तर्गतको सभालाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने जानकारी दिए।
एमाले कर्णाली प्रदेश संयोजक गोरख बोगटीले राजतन्त्र पुनःस्थापना गर्न खोज्ने प्रतिगामी प्रयासको विरुद्धमा जनता जागरुक बनाउन सभा आयोजना गरिएको बताए। उनका अनुसार देशभर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र जनअधिकारको सुदृढीकरणका लागि एमालेले अभियान सञ्चालन गरिरहेको छ।
एमाले केन्द्रीय सदस्य नवराज रावतले संविधान जारी भइसकेपछि जनताका अधिकार संस्थागत रूपमा कार्यान्वयन भइरहेको अवस्थामा गणतन्त्र र संविधानविरोधी षड्यन्त्र रोक्न जनताले ऐक्यबद्धता जनाउनु पर्ने बताए।
सभामा करिब १२ हजारको सहभागिता रहने अनुमान गरिएको छ। समसामयिक राजनीतिक घटनाक्रममा एमालेको धारणा बुझ्न र लोकतान्त्रिक गणतन्त्रको पक्षमा ऐक्यबद्धता जनाउन सबै जनसमुदायलाई सहभागी हुन एमाले सुर्खेतले अपिल गरेको छ।