- चैत्र १६, २०८१
- No Comment
- 156
सुर्खेत बराहतालमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
सुर्खेतको बराहताल गाउँपालिका–२, रानीघाटको सिकारवासमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शनिबार कालीबहादुर गणको आयोजनामा भएको शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य सेवा प्रदान गरेका छन्।
शिविरमा कर्णाली प्रदेश अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ललितजंग शाही, बालरोग विशेषज्ञ डा. त्रिभुवन भट्टराई, सेनाका सहसेनानी डा. सचित थापा र अभिनाष बस्नेतले सेवा दिए। साथै, सुर्खेत आँखा अस्पतालकी निर्देशक डा. मञ्जु पन्त र नेत्र सहायक बविता पुनले आँखासम्बन्धी उपचार सेवा प्रदान गरे।
स्वास्थ्य शिविरमा प्रसूति तथा स्त्रीरोग, बालरोग, आँखासम्बन्धी समस्या, जनरल सर्जरी तथा अन्य साधारण रोगको जाँच, उपचार र औषधि वितरण गरिएको थियो। शिविरमा ७२ जनाको भिडियो एक्स–रे पनि गरिएको छ।
कर्णाली प्रदेश अस्पतालका डा. शाहीका अनुसार शिविरमा आएका अधिकांश महिलाहरूमा पाठेघरको मुखको संक्रमण, महिनावारीमा अत्यधिक रक्तस्राव तथा पाठेघर खस्ने समस्या देखिएको छ।
नेपाली सेनाले दुर्गम गाउँमा पुगेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न शिविर आयोजना गरेको कालीबहादुर गणका प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए।
शिविर सुर्खेत आँखा अस्पताल, नम्बर ४ फिए गुल्म र ज्योति फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको थियो। शिविरमा बराहताल गाउँपालिका–१ र २ का ४५१ जनाले स्वास्थ्य सेवा लिएका छन्।
बराहतालमा नेपाली सेनाले पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भीम भण्डारीले जानकारी दिए।

