- चैत्र ८, २०८१
- No Comment
- 219
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा
सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त प्रविधिको उद्घाटन गरेका हुन्।
मुख्यमन्त्री कँडेलका अनुसार अब प्रहरीलाई सवारी साधन रोकेर नम्बर टिप्नुपर्ने झन्झट हट्नेछ। उनले भने, “यस प्रविधिले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउनेछ। सरकार कमजोर बनाउने तर व्यक्ति बलियो बन्न खोज्ने प्रवृत्ति अन्त्य गर्न जरुरी छ, विशेष गरी यातायात क्षेत्रमा यसको प्रभाव निकै महत्वपूर्ण हुनेछ।”
डिजिटल प्रविधिको प्रयोगसँगै वीरेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालयबाटै बबई नाकामा हुने गतिविधि निगरानी गर्न सकिने प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। उनले थपे, “नाकामा प्रवेश गर्ने र बाहिरिने सबै सवारी साधनको डिजिटल रेकर्ड रहनेछ, जसले शान्ति सुरक्षा कायम राख्न मद्दत गर्नेछ।”
मुख्यमन्त्री कँडेलले अब प्रहरीलाई मुख्य नाका तथा चेकपोस्टमै ध्यान केन्द्रित गर्न निर्देशन दिए। उनले भने, “नाका र चेक प्वाइन्टहरूमा निगरानी पर्याप्त हुन्छ, अनावश्यक रूपमा एकान्त क्षेत्रमा चेकजाँच गर्नु उचित होइन। जनविश्वास जित्ने गरी सुरक्षा व्यवस्था लागू गरिनुपर्छ।”
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ लाख ७६ हजार रुपैयाँ लगानीमा यो प्रविधि जडान गरेको हो। प्रविधिको प्रभावकारी प्रयोग सुनिश्चित गर्दै यातायात व्यवस्थापन र सुरक्षा प्रणालीलाई अझै परिष्कृत गर्दै लैजाने सरकारको योजना रहेको छ।