• फाल्गुन २४, २०८१
  • No Comment
  • 13

आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज विश्वभर ११५औँ अन्तरराष्ट्रिय महिला दिवस विविध कार्यक्रमसहित मनाइँदैछ।

सरकार, विभिन्न महिला संगठन, राजनीतिक दलसम्बद्ध निकाय तथा सरोकारवाला संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरी दिवसलाई भव्य बनाउने तयारी गरेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोह आयोजना गरेको छ भने अन्य संघसंस्थाहरूले पनि विविध कार्यक्रम तय गरेका छन्।

अन्तरराष्ट्रिय महिला दिवस महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिको स्मरण गर्दै उनीहरूको प्रविधिमा पहुँच विस्तार, सशक्तिकरण अभिवृद्धि, तथा लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलापको उन्मूलन गर्ने उद्देश्यले मनाइन्छ। साथै, महिलालाई शिक्षित, आत्मनिर्भर बनाउने र उचित सम्मान प्रदान गर्ने लक्ष्य पनि यस दिवसको रहेको छ।

नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गर्दै कुनै पनि धर्म, संस्कृति, परम्परा वा अन्य कुनै आधारमा हुने विभेद, शोषण र अन्यायको अन्त्य गर्ने नीति लिएको छ। यसैगरी, समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका विभिन्न निकायमा महिलाको सहभागिता बढ्दै गएको छ।

  • सङ्घीय संसद्मा ३४ प्रतिशत महिला प्रतिनिधित्व।
  • प्रदेशसभामा ३६.५ प्रतिशत महिला प्रतिनिधि।
  • स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधि।
  • निजामती सेवामा हाल करिब २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति।

तर, समाजमा विद्यमान केही नराम्रो प्रथाका कारण किशोरी तथा बालिकामाथि हुने हिंसा अझै निरन्तर छ। शारीरिक तथा मानसिक हिंसाका घटनालाई अन्त्य गर्नका लागि समाजका सबै पक्षहरूको सक्रिय भूमिका आवश्यक छ। शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण, निर्णय प्रक्रिया तथा राजनीतिमा महिलाको समान सहभागिता सुनिश्चित गर्न थप मेहनत गर्नुपर्ने देखिन्छ।

संयुक्त राष्ट्र सङ्घले सन् १९७५ देखि औपचारिक रूपमा अन्तरराष्ट्रिय महिला दिवस मनाउन सुरु गरेको हो। पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो।

महिला अधिकारका लागि संघर्षको पहिलो संकेत सन् १९०८ मा देखिएको थियो, जब अमेरिकामा १५ हजारभन्दा बढी महिलाहरूले दैनिक कार्य समय घटाउने, उचित तलब सुनिश्चित गर्ने र मतदानको अधिकार प्राप्त गर्ने माग राख्दै प्रदर्शन गरेका थिए। त्यसपछि संसारभर महिला अधिकारका विषयमा व्यापक बहस सुरु भएको थियो। यही ऐतिहासिक आन्दोलनको सम्झनामा आज अन्तरराष्ट्रिय महिला दिवस मनाइन्छ।

महिला सशक्तिकरणका लागि सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक स्तरमा अझै ठूलो सुधारको आवश्यकता रहेको विज्ञहरू बताउँछन्। महिलाहरूको हक अधिकारलाई सुनिश्चित गर्न राज्यका सबै तहले एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।

 

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *