- माघ ३०, २०८१
- No Comment
- 29
रुकुमपूर्वमा हजुरआमा र ८ महिनाका नातिको हत्या, आरोपी भिरबाट खसेर मृत फेला

रुकुमपूर्वको भूमे गाउँपालिका–४ साकिममा एकै परिवारका दुई जनाको हत्या भएको छ। मंगलबार दिउँसो २ बजे ६० वर्षीया हजुरआमा ढाटी बुढा र उनका ८ महिनाका नाति समिरको छिमेकीद्वारा हत्या भएको हो।
प्रहरीका अनुसार ढाटी बुढा नातीलाई पिठ्यूमा बोकेर बाटोमा हिँड्दै गर्दा छिमेकी ५३ वर्षीय चन्द्रसिङ पुनले धारिलो खुकुरीले आक्रमण गरेका थिए। आक्रमणको कारण हजुरआमा र नातिको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि भागेका चन्द्रसिङ पुन पनि केही समयपछि घटनास्थलदेखि करिब आधा घण्टाको दूरीमा खुलखुले खोलामा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डिएसपी माधवराज खरेलका अनुसार पुनको शव भिरबाट तल खसेको अवस्थामा टाउकोमा गहिरो चोटसहित भेटिएको हो।
घटनाको प्रारम्भिक अनुसन्धान अनुसार घर नजिकै सामान्य विवादपछि पुनले हजुरआमा र नातिमाथि खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएका छन्।
इन्स्पेक्टर हिमबहादुर केसीका अनुसार आक्रमणपछि भाग्ने क्रममा पुन भिरबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको सटीक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।