झापामा घरभित्र नग्न अवस्थामा १ महिला मृत फेला
झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ। मृतक ५५ वर्षीया गंगाकुमारी लिम्बूको शव मंगलबार राति आफ्नै घरभित्र भेटिएको हो।
वडाध्यक्ष बहादुर आङ्गबोका अनुसार गंगाकुमारी एक्लै बस्दै आएकी थिइन्। सोमबारदेखि सम्पर्कमा नआएकी लिम्बूको शव छिमेकीहरूले झ्यालबाट भान्सा कोठामा लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले मंगलबार राति ढोका फोडेर शव बरामद गरी दमक अस्पतालमा परीक्षणका लागि पठाएको छ।
वडाध्यक्ष आङ्गबोले गंगाकुमारीका श्रीमान भारतमा रहेका जानकारी दिए। हालसम्म मृत्युको कारण खुलेको छैन। इलाका प्रहरी कार्यालय झिलझिलेले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
शव नग्न अवस्थामा भेटिएकाले यो घटना रहस्यमय मानिएको छ, र थप छानबिन जारी रहेको प्रहरीको भनाइ छ ।