- पुस २९, २०८१
- No Comment
- 19
रवि लामिछाने थप दुई दिन हिरासतमा बस्ने

सहकारी ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमै राख्न आदेश भएको छ।
जिल्ला अदालत, काठमाडौंमा पुस २८ गते हाजिर भएका लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा सुनुवाइ भएको हो। सरकारी वकील र जाहेरवालाका कानून व्यावसायीको बहस सकिए पनि प्रतिवादीका वकीलको बहस बाँकी नै रहेकाले लामिछानेलाई प्रहरीकै जिम्मा लगाउन आदेश भएको सूचना अधिकारी अमरबहादुर चन्दले बताए। माघ १ गते माघे संक्रान्तिको छुट्टी भएकाले माघ २ गते मात्रै थुनछेकको बाँकी बहस हुनेछ।
लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तसहित १० जना कानून व्यवसायीले वकालतनामा भरेको सूचना अधिकारीले चन्दले बताए।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटी तिरेर छुटेका लामिछाने २८ पुसमा काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ अपचलन भएको आरोपमा उनी सहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ।
यो सहकारीबाट पनि गोरखा मिडिया नेटवर्कमा रकम लगेको आरोप छ। जसमा गोरखा मिडियाका तत्कालीन सञ्चालक लामिछाने र अध्यक्ष जीबी राईले सहकारीको पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा खुलाइएको छ।
२८ गते लामिछानेको बयान सकिएर आजदेखि थुनछेक बहस शुरू भएको हो। थुनछेक बहसपछि लामिछानेलाई धरौटी मागेर बाहिरै बसेर मुद्दा लड्ने वा थुनामा राखेर भन्ने टुंगो लाग्नेछ। यस मुद्दामा यसअघि पक्राउ परेका कमल लामा र सुनीता नेवालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
लामिछानेलाई चितवन, रुपन्देही र पर्साका सहकारीबाट समेत रकम अपचलन गरेको आरोप छ। लामिछाने गृहमन्त्री छँदा रुपन्देही र कास्कीमा भएको अनुसन्धानमा उनलाई उन्मुक्ति दिइएको थियो। संसदीय छानबिन विशेष समितिले पुनः अनुसन्धान हुनुपर्ने सिफारिश गरेपछि लामिछाने अनुसन्धानको दायरामा आएका थिए।
करीब तीन महीना प्रहरी हिरासतमा बसेपछि जिल्ला अदालत, कास्कीले उनलाई धरौटीमा छोडेर मुद्दा लड्ने सुविधा दिएको थियो ।